
१० जेठ, काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ ।
शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको शाखा प्रबन्धक हेमराज जोशीले जानकारी दिए ।
शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।उनका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो ।
उनका अनुसार शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल असारभित्र आइपुग्ने आश्वासन पाएका छौँ,” प्रबन्धक जोशीले भने ।
पछिल्ला वर्षमा खेतीको मुख्य समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको अवस्थामा यस वर्ष मौज्दात मलले किसानलाई केही राहत हुने भएको उनको भनाइ छ।
