
२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू–राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ ।
सेन्टर फर इकोनोमिक्स एन्ड स्ट्राटेजिक स्टडिज (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना र दक्षिण एशियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए ।सो संवादमा विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर सेसिफले बोधि संवादलाई आर्थिक,राजनीतिक तथा भूराजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्ने बताएको छ ।
विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अवस्थामा यस्ता विषयहरूको अर्थ, प्रभाव र सम्भावित दिशामाथि गहन विमर्श आवश्यक रहेको आयोजकले जनाएको छ।
चार दिनसम्म चल्ने सम्मेलनमा मंगलबार र बुधबार ‘नेपालको आर्थिक विकासको सम्भावना’ विषयमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन् भने बिहीबार र शुक्रबार ‘दक्षिण एशियामा भू–राजनीतिक परिवर्तन र चीनको भूमिका’ विषयमा छलफल हुनेछ ।
आर्थिक विकाससम्बन्धी सत्रहरूमा दीर्घकालीन आर्थिक समृद्धिको मार्गचित्रमा बहस हुनेछ। यसका लागि राजनीतिक नेतृत्व, नीति निर्माता, अर्थशास्त्री, निजी क्षेत्रका प्रतिनिधि, विकास साझेदार, अनुसन्धानकर्ता तथा युवा नेतृत्वलाई एकै मञ्चमा ल्याइने आयोजकले जानकारी दिएका छन्।
