सरकारले लगानीको वातावरण निर्माण गरेको छ : वन मन्त्री ठकुरी

१, फागुन काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन्।

मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बुधबार यहाँ आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

मन्त्री ठकुरीले लगानी सहजीकरणको लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनीता कठायतले कर्णालीमा लगानी प्रवर्द्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताए।