ललितपुर । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ ।अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ बटै कास्य पदक जितेको छ ।
यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १–१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको छ ।सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए।बिहीबार सम्पन्न खेलमा संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन्।
संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट भएका छन्।फाइनल पुग्नु अघि विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराएकी थिइन्। भने,संजिवले सेमिफाइनलमा सेनेगलका खेलाडीलाई स्तब्ध पारेका थिए।सान्सौंतर्फ नेपाल यसअघि नै बुधबार दुईवटै कास्य पदक जितेको थियो।
लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए। उनीहरु दुबै जना टर्किका खेलाडीसँग सेमिफाइनलमा पराजित भएका थिए।यस्तै प्रतियोगिताको अन्तिम दिन बिहीबार थाउलो विधाको नानछ्वानमा नेपालका दिपक हमाल ९ दशमलव ६६३ स्कोरसहित कास्य पदक जित्न सफल भएका छन्।
त्यस्तै थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीले अर्को एक काँस्य पदक नेपालको नाममा लेखाउन सफल भएका छन् ।प्रशिक्षक निकेश श्रेष्ठका अनुसार विजय सिन्जाली, दिपक हमाल र राजिव गुरुङ्गले पुरुष टिम इभेन्टमा थप कास्य पदक दिलाएका छन्।नेपाल उसु महासंघका महासचिव तथा नेपाली टोलीका नेतृत्वकर्ता ल्हाक्पा छिरिङ लामाले नेपाली खेलाडीले चीनमा ऐतिहासिक नतिजा निकालेको प्रतिक्रिया दिएका छन् । २ रजत र ४ कास्य जित्नु नेपालका लागि निकै उपलब्धिमूलक रहेको उनले बताए।
प्रतियोगितामा भाग लिन २० सदस्यीय नेपाली उसु टोली गएको आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो। अब आगामी सोमबार नेपाली टोली स्वदेश फर्किने प्रशिक्षक श्रेष्ठले जानकारी दिए।जापानमा थाउलो विश्वकप र अस्ट्रेलियामा सान्सौ विश्वकप हुने उनले जानकारी दिएका छन् ।
