
काठमाडौं ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्रयाप जडान गरिएको छ। त्रिभुवन विश्वबिद्यालय,प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरुको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागेका हुन् ।
प्रत्येक १–१ वर्ग किलोमिटरको ग्रिडमा १ जोडी क्यामरा राखी अध्ययन गर्ने योजना रहेकोमा हाल २६ स्थानमा २६ जोडी क्यामेरा राखिसकिएको छ।झन्डै असारसम्म चल्ने यो अध्ययनमा करिब ७० स्थानमा ७० जोडी क्यामेरा राखिने उनको भनाई छ ।
यो अध्ययनले शिवपुरी –नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको संख्या, आनीबानी र गतिविधिबारे जानकारी प्राप्त हुनेछ । मानव(चितुवाबीचको द्वन्द्व कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
उक्त अध्ययनको सुपरीवेक्षण त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. हरिप्रसाद शर्मा,डा. केदार बराल र डा.नरेश सुवेदीले गर्दैछन् ।अनुसन्धानमा रामजी गौतम,शिविश भण्डारी, विमलराज श्रेष्ठ र सूर्य देवकोटालाई सहयोगीको रुपमा राखिएको बताइएको छ।
क्यामेरा कम्तीमा २१ दिनसम्म राखिने छ।
