प्रधानमन्त्री प्रचण्ड र ओलीको नागरिकता पनि हेरौं :मिडिया सोसाइटी,सिरोहियालाई रिहा नगरे संघर्षको घोषणा

काठमाडौं।मिडिया मालिकहरुको साझा संगठन मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरेका छन्।

बुधवार मिडिया सोसाइटीले पत्रकार सम्मेलन गरेर सिरोहिया पक्राउबारे आपत्ति जनाएको छ। कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका व्यक्त गरेका छन्।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ । उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ।पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला ।त्यसमा नाम,थर,वतन,जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ ।

सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न।कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’

पक्राउ पूर्जिपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिने भएता पनि मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ ।’