पूर्वाधारका पर्खाइमा सुनछहरा

२८, माघ म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरू पुग्न सकेका छैनन् ।

प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने, ‘सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ ।

’भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो ।

किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान् प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् ।

भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्सीवाद दिए पनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् ।