मधेश प्रदेशको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा हुने

२८, माघ काठमाडौं। मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।

फुटबल प्रतियोगिता नक आउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे ।

तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।’’

प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब,गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।