नागार्जुन समुहको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

सीता पौडेल(अर्चना)

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को टौडोल,माइक्रोवसपार्कमा अवस्थित ‘नागार्जुन समुह’ ले नयाँ वर्ष २०८१ सँगै समुहको २५ औं स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

आज शनिबार टौडोलमा रहेको कार्यालय भवनको सभाहलमा वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको नागार्जुन समुहका अध्यक्ष प्रकाश बलामीले बताउनुभयो ।आज भन्दा २५ वर्ष अगडि वि.सं.२०५६ भाद्र १४ गते एक सामाजिक संस्थाका रुपमा स्थापना भएको नागार्जून समुहले यहि आउँदो भाद्र १४ गते आफ्नो रजत जयन्ती मनाउने तयारी गरेको अध्यक्ष बालामीको भनाई छ।

समुहका सचिव राजेन्द्र राजबहाकका अनुसार समुहले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएको हो।

बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु,नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लाका प्रतिनिधि,यस क्षेत्रका विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु,रोटरी क्लब अफ काठमाडौं नर्थका प्रतिनिधि,नेप्सेम्याक सेवा प्रा. ली. ,स्वयम्भूका प्रतिनिधि लगायत विभिन्न सामाजिक संघ,संस्थाका प्रतिनिधिहरु र स्थानीय समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको सदस्य किरण बलामीले बताउनुभयो ।

 स्थापना कालदेखि विभिन्न सामाजिक क्षेत्रहरुमा काम गर्दै आएको नागार्जुन समुहको  कार्यक्रममा उपस्थित अतिथिहरुले निकै सह्राना गर्नुभएको थियो भने नयाँवर्ष विं सं.२०८१ सालको भित्ते पात्रो समेत प्रकाशन  गरेकोमा थप प्रसंसासहित थप प्रगतिको कामना समेत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित स्थानीयहरुले जनप्रतिनिधिहरु समक्ष आ—आफ्ना क्षेत्रका सामाजिक तथा भौतिक विकासका विषयका समस्या उजार गराएका थिए ।