काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताउनु भएको छ।
शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उहाँले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता,असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको एमाले स्रोतले बताएको छ।
लोकतान्त्रिक गणतन्त्रको विकल्पमा निरङ्कुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर गर्दै ओलीले भन्नुभयो,‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसमा हामी ढुक्क भए हुन्छ।
यो इतिहासको चक्र पछाडि फर्कनेवाला छैन।लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन् ।संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुनसक्छ तर यस समस्याको विकल्प निरङ्कुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै सक्दैन।सामाजिक असन्तुष्टिको लाभ यस्ता पक्षले उठाउन नपाउन भन्ने कुरामा सहज रहँदै त्यसलाई सम्बोधन गर्न हामी विशेष संवेदनशील रहनु पर्छ।’
जनताको समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एमाले गम्भीर भएर लाग्नु जरुरी भएको भन्दै ओलिले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनमा समेत सकारात्मक शक्तिहरूलाई गोलबन्द गरि स्थायित्वको प्रयास गर्नु,राष्ट्रियताका आघात पुग्ने सम्भावना प्रति चनाखो रहनु तथा समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई अगाडि बढाउन पार्टीले प्रभावकारी भूमिका खेल्नु पर्ने जस्ता विषयमा ओलिको जोड रहेको स्रोतको भनाई छ।
