
११ कात्तिक,काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ ।
नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग बढ्दै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ ।
रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका युवायुवतीलाई रक्तदान गर्न डा.यादवले अनुरोध गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ।
