चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

१० कात्तिक,काठमाडौं ।सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यसका लागि आवेदन दिन आह्वान गरेको छ ।

सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको हो।यसले स्थानीय कला, संस्कृति, रहनसहन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत भइसकेको छ ।

चलचित्र निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सकिने छ । एउटा चलचित्र निर्माणका लागि पटकथा लेखन,प्रोडक्सन र पोस्ट प्रोडक्सनमा छुट्टाछुट्टै अनुदान प्राप्त गर्न सकिनेछ । यस हिसाबले एउटा फिल्मले कुल ९५ लाख रुपैयाँसम्म अनुदान पाउन सक्छ ।

पटकथा लेखनका लागि पाँच लाख रुपैयाँसम्म, प्रोडक्सनका लागि ७० लाख रुपैयाँसम्म र पोस्ट प्रोडक्सनका लागि २० लाख रुपैयाँसम्म अनुदान पाउन सकिनेछ ।

पटकथा लेखनतर्फ बढीमा पाँचवटा फिल्मले अनुदान प्राप्त गर्न सक्छन् ।यस्तै,प्रोडक्सनका लागि तीनवटासम्म फिल्मले अनुदान पाउन सक्छन् भने पोस्ट प्रोडक्सनका लागि पाँचवटा फिल्मले अनुदान पाउन सक्छन्।

सार्वभौमसत्ता,राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्ने गरि निर्माण गरिने चलचित्रले यो सहयोग पाउने छन् ।

मुलुकको इतिहास,पर्यटन र संस्कृतिलाई उजागर गर्ने वा प्रवर्द्धन गर्ने खालको हुनुपर्नेछ । सामाजिक वा राष्ट्रिय भाव बोकेको चलचित्र यसका लागि योग्य हुन सक्नेछ ।

यी कथालाई मौलिक र रचनात्मक ढंगले दृश्यभाषामा उतार्न सक्नेले यो अनुदान प्राप्त गर्न सक्नेछन् । चलचित्रको स्क्रिप्ट नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ ।

चलचित्र फोरके प्रविधिको क्यामेराले खिचिएको हुनुपर्नेछ ।चलचित्रको अवधि बढीमा ९० मिनेट हुनुपर्नेछ।

अनुदान रकम अन्य उपकरण वा सामग्री खरिदमा खर्च गर्न पाइने छैन। एआईको प्रयोग गरी चलचित्र निर्माणको काम गर्न पाइने छैन सूचनामा भनिएको छ।