करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

९ कात्तिक,काठमाडौँ । सरकारले यही कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको  छ ।

 आर्थिक वर्ष २०८३–०८४ को  पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष दसैँ परेकोले कात्तिकको १७ र १८ गतेलाई सारिएको हो । 

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ ।

यस पटक सबै क्षेत्रमा गरि करिब २१ लाख बालबालिलाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारी तथ्यांक छ ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाएको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन सुरु गरिएको हो ।