
१२ कात्तिक, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण छ ।
कृषि तथा पशु विकास प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ ।
मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
यस वर्ष रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ ।यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ ।
जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ ।
मुस्ताङमा गत वर्ष छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन बढी स्याउ फलेको हो । जिल्लामा ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ ।
जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ
