काठमाडौं।काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी)मा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।साथै संघले कुटपिटमा संलग्नलाई कारबाही गर्नसमेत माग गरेको छ।
सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा.बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात गरेर अस्पतालमा तोडफोड भएको संघले बताएको छ।
‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटनाप्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा. सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बताएको छ।
