कांग्रेसलाई ओलीको प्रश्न : आफ्नो पछि लागेर प्रधानमन्त्री हुन्न भन्नासाथ भ्रष्टाचारी हुन्छ ?

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको प्रधानमन्त्री अफर अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्रीविरुद्ध कांग्रेसहरु खनिएको आरोप लगाएका छन् ।

काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले विभिन्न शक्तिहरु मिलेर समीकरण भत्काउने प्रपञ्च रचिरहेको बताए।

उनले भने, ‘हामीले सत्ता समीकरणमा रुचि राखेका थिएनौं,पहिला पनि भनेको थिएँ,तर गठबन्धन चार वर्ष चल्न दिएको भए देश बर्बादीमा जाने भयो ।गठबन्धनले अनेक प्रकारका देशलाई घात गर्दै आयो।देश अप्ठेरोमा जाने भएपछि समीकरण फेरिएको छ ।

यो समीकरण बन्न नदिन र बन्ने बित्तिकैदेखि हटाउन अनेक प्रकारका कोसिस भए ।अच्चमको कुरा नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बन्दिनुस् भन्न जान्छ, डेढ वर्षको लागि कागज लिएर सम्झौता गरौं भन्न जान्छ ।कांग्रेसको पछि लागेको भए त्यो मान्छे प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो भ्रष्टाचारी !’

कांग्रेस लोकतान्त्रिक पार्टी नभइ सत्ता स्वार्थमा डुबेको उल्लेख गर्दै उनले भने, ‘सदन चल्न दिँदैन । आफू बोल्छ, आरोपित मान्छेले जवाफ दिन्छु भन्दा बोल्न दिँदैन । संसदमा आरोप लगाएपछि बोल्न नदिने यस्तो लोकतन्त्र हुन्छ ?यस्तो लोकतान्त्रिक शक्ति हुन्छ ? यो त सत्ता स्वार्थमा डुबेको छ,न्यायको पक्षमा छैन।’

एमाले कसैले सिद्धाउँछु भन्दैमा सिद्धिने पार्टी नभएको भन्दै ओलीले थपे,‘सिध्याउँछौं भनेको पार्टी सबैभन्दा प्रभावशाली पार्टीको रुपमा उदय भएको छ ।प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई पराजित गरेर हामी अगाडि बढेका छौं।एमाले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ ।’