
सीता पौडेल(अर्चना)
काठमाडौं। काठमाडौंको उत्तरी भेगमा अवस्थित बूढानीलकण्ठ नगरपालिकालाई स्वदेश र विदेशमा चिनाउनुका साथै यसको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुष्टिङ बूढानीलकण्ठ’ अभियान थालिएको छ ।

शिवपुरी पर्वत श्रृखलाको फेदीमा रहेको यो नगरपालिका शैव,वैष्णव र बौद्ध धर्मालम्वीको आस्थाको केन्द्रका रुपमा रहेको नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका रहेको हुनाले यसलाई विश्वसामु चिनाउनु र आन्तरिक तथा बाह्य पर्यटक भित्राएर प्रवद्धनमा सहयोग पु¥याउन बुष्टिङ बूढानीलकण्ठ अभियान सञ्चालन गरिएको अभियानका संयोजक स्थानीय पुण्य प्रसाद पूडासैनिले जानकारी दिए ।

कपन अनलाइन न्युज पोर्टलका प्रधान सम्पादकसमेत रहेका पूडासैनिका अनुसार बुढानीलकण्ठको धार्मिक,सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्राउनु यस अभियानको मूल उद्देश्य रहेको छ।सोही उद्देश्य अनुसार हिजो वैशाख २९ गते शनिबार दास्रो चरण अन्तर्गतको पदयात्रामा नगरभित्रका स्कुल तथा कलेजका करिब १७० जना प्रधानाध्यापकहरुसँग पदयात्रा गरिएको हो ।
सो पदयात्रामा प्रधानाध्यापकहरु सहित पत्रकारहरु,नेपाल स्काउटका प्रतिनिधिहरु र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेत गरि झण्डै २०० जनाको सहभागिता रहेको अभियन्ता आशीष गुरागाईँले जानकारी दिए।बुढानीलकण्ठलाई चिनाउन यस प्रकारको अभियान थालिएको स्पष्ट पार्दै उनले भने, “हामी बुढानीलकण्ठबासी हौँ जुन हाम्रो घर हो । हाम्रो घरको राम्रो ठाउँहरु देखाउन चाहेको हो ।आगामी दिनमा पनि गरिराख्ने प्रतिबद्धता व्यक्त गछौँ ।यो नागरिकस्तरबाट चलेको कार्यक्रम हो ।”उनले भने ।

पदयात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरु भएर शिवपुरी – नागार्जुन राष्ट्रिय निकुञ्ज,विष्णुमती नदीको उद्गमस्थल विष्णुद्धार लगायतका ठाउँको अवलोकन गर्दै वडानम्बर ५ को डाँडा गाउँमा रहेको होमस्टेमा पुगेर एक कार्यक्रमको आयोजना गरि अभियानमा सहयोग गर्ने सबैलाई कदरपत्र प्रदान गर्दै समापन भएको थियो ।

बुष्टिङ बूढानीलकण्ठ अभियान अन्तर्गत पहिलो चरणको पदयात्रा भने गत वर्षको चैत्र ३० गते शुत्रबारका दिन पत्रकारहरुसँगको पदयात्रा गरिएको संयोजक पूडासैनिले बताएका छन् ।बुष्टिङ बूढानीलकण्ठ अभियान अन्तर्गत १० चरणमा कार्यक्रम गर्ने तयारी गरिएकोमा तेस्रो चरणको कार्यक्रम आगामी जेठ महिनाको अन्तिम शनिबार उद्यमी तथा व्यवसायीहरुसँग गर्ने तयारी भइसकेको संयोजक पूडासैनिले योजना सुनाए ।

उनका अनुसार प्रधानाध्यापकहरुसँगको पदयात्रालाई मनाश्लु वल्र्ड कलेजले प्रायोजन र रिलायन्स कलेज,हिमालयन बोर्डिङ स्कुल लगायतले सहयोग गरेका थिए ।भने,योसँगै अभियानलाई थप प्रवर्द्धनका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका छन् ।


सो पदयात्राका क्रममा शिबपुररी बाबाको महासमाधि स्थल, बूढानीलकण्ठ आश्रम,म्युजियम,खप्तडबाबाको महासमाधि मन्दिर लगायतका पवित्र स्थलहरुको पनि अवलोकन गरिएको थियो । विष्णुमतीद्धारसँगै रूद्रमती,धोबीखोला,यज्ञमती,च्यानेखोला जस्ता नदीनालाहरूका द्धार रहेको यस नगरपालिकाभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिरसँगै चण्डेश्वर मन्दिर,रूद्रेश्वर,भद्रकाली,पञ्चकन्या,शिव,कृष्ण,वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू र बूढानिलकण्ठ भगवानले स्नान गर्ने अप्सराघाट पनि रहेका छन् ।भने,बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा,आनी गुम्बालगायत बौद्ध मठहरू पनि छन् ।

नेपालका नगरपालिकाहरुमा दोश्रो ठूलो नगरपालिकाको रुपमा रहेको यस पालिकाको उत्तरतर्फ नुवाकोट जिल्ला र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज,दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ।त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ ।

विश्व मानचित्रमा २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्मको भौगोलिक अवस्थितिमा रहेको यस बूढानिलकण्ठ नगरपालिका समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्मको उचाइमा कुल ३४.८० वर्ग किमि क्षेत्रफलमा फैलिएको छ।

