
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् । नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।
डा.नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिको विरोध जनाउँदै यो विषयलाई गम्भीर रुपमा संसदमा उठाउ पार्टी निकटका सांसदहरुलाई निर्देशन समेत दिएका थिए ।
