प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

१६ कार्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि छानबिन हुनुपर्ने बताएको हो ।

त्यस्तै ट्रान्सपरेन्सीले सञ्चारमाध्यमका समाचारहरुमा जोडिएका र आफूले स्पष्टीकरण दिएका न्यायाधीशहरूले इमान्दारिता प्रदर्शन गरी प्रश्नहरुको समाधान नभएसम्म न्यायसम्पादनको काममा संलग्न नहुन सुझाव दिएको छ ।

विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष,बिचौलिया वा प्रभावकारी व्यक्तिहरुसँग भेट्नु वा सम्पर्कमा आउनु आचारसंहिताका दृष्टिकोणले उचित नहुने भन्दै उसले यस्तो अवस्थामा छानबिन अघि बढाउनुपर्ने भनेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विज्ञप्तिमा भनेको छ, ‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरुले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।

’न्यायाधीशहरुरूमाथि प्रश्न उठेमा अनुसन्धान गर्ने निकाय संसद् रहेको भन्दै उसले तत्काल संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिन भनेको पनि सुझाएको छ ।उसले सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्न माग गरेको छ ।