ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी

१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई  गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रममा विभिन्न नाम र ब्रान्डका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो ।

हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् ।

यसै सन्दर्भमा निगमले १२ कात्तिकमा  सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा  गरिएको छ ।