महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन,लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र महिला सशक्तीकरणको महत्त्वपूर्ण आवश्यकता औंल्याएका छन्।

नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले डिजिटल रूपान्तरण मार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए।

उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताएका छन्। ।

‘आर्थिक सशक्तीकरणमा महिलाको आर्थिक अधिकार,न्यायको प्रवर्द्धन र कार्यस्थलहरूमा लैङ्गिक अन्तर रोक्नुपर्नेजस्ता विषयहरू समावेश छन’ उनले भने,‘त्यसअनुरुप कार्य हुन आवश्यक छ ।अझ नीति निर्माण र आर्थिक विकासमा महिलाको भूमिकालाई थप एकीकृत गर्दै अघि बढ्न सक्नुपर्दछ।’

राजनीतिमा नेपालले महिला सशक्तीकरणको क्षेत्रमा केही फड्को मारे पनि लैङ्गिक समानता,महिला उद्यमशीलता र वित्तीय स्रोतमा पहुँचजस्ता महत्त्वपूर्ण क्षेत्रमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ छ।

उनले महिलालाई विकासको मूलधारमा ल्याउनु जरुरी भएको भन्दै यस सम्मेलनले दक्षिण एसियाली महिला उद्यमीहरू र आर्थिक क्षेत्रमा क्रियाशील महिलाबिच नेटवर्किङका लागि एउटा राम्रो अवसर प्राप्त हुने विश्वास लिएको बताएका छन् ।

साथै कार्यक्रममा उनले नेपाली महिला उद्यमीहरू र अन्य दक्षिण एसियाली देशहरूबिच संयुक्त व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न सम्मेलनले उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरे।