
सीता पौडेल(अर्चना)
काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले गोर्खाको शहिदलखन गाउँपालिका वडा नम्बर,८ कुवापानीका मृगौला पीडित कुमारबाबु थापालाई रु. एक लाख आर्थिक सहयोग गरेको छ ।
आइतबार क्लबको १३१९ औं नियमित बैठकमा क्लबका अध्यक्ष पिताम्बर पौडेल(प्रितम),पूर्व अध्यक्ष द्धय रविन्द्रजंग थापा र गौतम प्रसाद खनाल लगायतले पीडित थापालाई चेक हस्तान्तरण गरेका थिए।अध्यक्ष पौडेलका अनुसार दुबै मिगौंला फेल भई लामो समयदेखि महाराजगञ्जको टिचिङ अस्पतालमा उपचारत ४५ वर्षिय थापाले आर्थिक अभावका कारण मृगौंला प्रत्यारोपणमा समस्या भएको भन्दै यस अघि सहयोगका लागि अपिल गरेका थिए।

उक्त अपिल उपर छलफल गरि क्लबको १३१८ औं नियमित बैठक र यस वर्षको पहिलो बोर्ड बैठकले सबै सदस्यहरुबाट रकम संकलन गर्ने निर्णय गरेर सहयोग गरिएको हो।
यता पीडितको सहयोगार्थ सोही गाउँपालिकाका सामाजिक अभियान्ता उत्तर कुमार श्रेष्ठ लगायतको टीमले ‘कुमारबाबु थापा बचाउ अभियान’नै सञ्चालन गरेर सहयोगका लागि आर्थिक संकलन गरिरहेको पूर्वअध्यक्ष थापाले जानकारी दिए।
अहिलेसम्म सो अभियानबाट भन्डै १४ लाख रकम संकलन भइसकेको र थप सहयोग जुटिरहकाले उपचारमा सहज हुने आशा गरिएको पीडितसँगै उपस्थित भएका अभियान्ता श्रेष्ठले बताए ।

उनको मृगौला प्रयारोपण र उपचारको लागि करिब ४० लाख रकम आवश्यक पर्ने अभियान्ताको भनाई छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि पीडितले सहयोगका लागि याचना गरिरहेका थिए ।यो थाहा पाएर छिमेकी तथा क्लब पदाधिकारी द्धय शंकर खड्का र प्रदिप थापाले पीडित र अभियान्ताहरुलाई क्लबमा उपस्थितिका लागि सहजीकरण गरेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएपनि आर्थिक सहयोग जुट्न थालेपछि पीडित थापाले बाँच्ने आशा पलाएको बताएका छन्।
