
५, असोज काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गरेकी छिन् ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले स्वास्थ्यको अधिकार सँगै जोडिएका कानुन बनाउन र सुधार गर्न सरकार र संसदलाई सुझाव दिन जनस्वास्थ्यविद्हरूसँग आग्रह गरेकी हुन् । उनले सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने कुरा दिगो विकासको लक्ष्यमा समेत स्पष्ट भएको बताउँदै आवश्यक ऐन र कानुन बनाउन तथा सहजीकरण गर्न सदैव तयार रहेको पनि बताइन्। पछिल्लो समयमा मानिसको मृत्युदर घटेको तर रोगी भएर बाँच्ने क्रम बढेको भन्दै रोग लागेपछि उपचार गर्नुभन्दा भन्दा रोग लाग्नै नदिनका लागि जनस्वास्थ्य सुधारको काममा राज्य र संसद्ले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
‘रोग लागेपछि महँगो उपचार गर्नुभन्दा रोग लाग्नै नदिन खोप, जनचेतना, आहार बिहार सुधार गर्नु अहिलेको आवश्यकता हो ।’, उनले भनिन् ‘राज्यले जनस्वास्थ्यको अवस्थामा अझै सुधार गर्न आवश्यक कानुन बनाउन र स्रोत साधन परिचालनलाई प्राथमिकता दिनुपर्छ।’ अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण पनि जनस्वास्थ्य क्षेत्रमा चाहे अनुसार सुधार नभएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न आग्रह पनि गरिन् ।
