वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ :नीलाम्बर आचार्य

५, असोज काठमाडौं । पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहनुभएका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताए ।

पूर्वमन्त्री आचार्यले भने, “देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।” राष्ट्रिय योजना आयोगका सदस्य डा।प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई परिणाममुखी तुल्याउन भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको विषयमा सरोकार भएका निकाय तथा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशसभाका सांसद दीपेन्द्र श्रेष्ठले लोकतन्त्र प्राप्त भएपछि मुलुकले आर्थिक र समृद्धिका क्षेत्रमा विकास हुनुपर्नेमा राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायत कारणले सोचेअनुसार उपलब्धि हासिल हुन नसकेको विचार राखे । अर्थशास्त्री डा रेवतबहादुर कार्कीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले वित्तीय अनुशासन कायम गरी त्यसलाई सुधार गर्दै अघि बढनुपर्ने आजको आवश्यकता रहेको बताए ।