विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

२७ कार्तिक,काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ ।

महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् ।

फुटबलपछि व्याटमिन्टन १,२४७ जना, भलिबल १,२४७ जना, क्रिकेटमा ९६ जना, तेक्वान्दोमा ९२५ जना विद्यार्थीले रुची देखाएका छन् ।

बास्केटबलमा ८,९९ जना, कराँते ८९३ जना, कवड्डी ६९ जना, एथलेटिक्स ५४९ जना, बक्सिङ् ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिस २७८ जना, खोखो २४५ जना, हक्कीमा १४९ जना, उसुमा ६६ जना र जुडो ४० जना जना विद्यार्थीले रुची छन् ।

पोखरेलका अनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।

शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ ।

करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ ।

जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ ।

कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिने महानगरले जनाएको छ ।

माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ ।