रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ।

सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ ।

प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ ।

काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् ।

यो गुरुयोजना सफल हुनका लागि बलियो राजनीतिक इच्छाशक्ति र खर्बौं रुपैयाँको लगानी आवश्यक पर्छ ।यदि सरकार र दातृ निकाय (जाइका लगायत) को इच्छाशक्ति मिलेमा, सन् २०४० भित्र काठमाडौँको रत्नपार्कबाट चढेर भूमिगत र आकाशे मार्ग हुँदै केही मिनेटमै भक्तपुर पुग्ने उपत्यकावासीको सपना यथार्थमा परिणत हुने देखिएको छ ।

जाइकाको ट्राफिक माग प्रक्षेपण मोडेलिङअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी यात्रुको चाप पूर्व–पश्चिम करिडोर अर्थात् काठमाडौँ महानगरपालिकादेखि भक्तपुर नगरपालिकासम्मको खण्डमा छ ।यस करिडोरमा घना आवासीय क्षेत्र, व्यापारिक केन्द्र, शैक्षिक संस्था र सरकारी कार्यालयहरू केन्द्रित छन् ।

काठमाडौँको भौगोलिक जटिलता,घना बस्ती,पुरातात्विक सम्पदा र जग्गा अधिग्रहणको उच्च लागतलाई ध्यानमा राख्दै गुरुयोजनाले यस मेट्रो परियोजनालाई पूर्ण रूपमा जमिनमाथि वा पूर्ण रूपमा जमिनमुनि नबनाई मिश्रित संरचनामा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

लक्ष्य सन् २०४० र मध्यकालीन चरणको प्रमुख आयोजना दीर्घकालीन रूपमा (सन् २०५० सम्म) यही पूर्व–पश्चिम लाइनलाई आधार मानेर चक्रपथ र उत्तर–दक्षिण मास ट्रान्जिट करिडोरहरूको विस्तार गरिने जनाइएको छ ।

गुरुयोजनाले यस मेट्रो परियोजनालाई मध्यकालीन चरण (फेज–२) अन्तर्गत राखेको छ । यसको अर्थ सन् २०३२ सम्ममा यसको विस्तृत सम्भाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन,वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन ,लगानीको सुनिश्चितता र ठेक्का प्रक्रिया सम्पन्न गरिनेछ ।

त्यसपछि सन् २०४० सम्ममा रत्नपार्क–भक्तपुर मेट्रो रेल सञ्चालनमा ल्याउने गुरुयोजनाको लक्ष्य सरकारको छ ।