
३, मंसिर काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने छन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको छ ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिए । नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइ सकेका छन् । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
