
१६ असोज,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राज्ञिक परिषद्को पूर्ण बैठकले शैक्षिक कार्यक्रमको पाठ्यक्रम स्वीकृति सम्बन्धका निर्णय अनुमोदन गरेको छ।
आज शुक्रबार बसेको उक्त बैठकले आर्थिक वर्ष (आव) २०८१–०८२ र आव २०८२–२०८३ मा प्राज्ञिक परिषद्को स्थायी समितिबाट भएका निर्णयको अनुमोदन गरेको हो ।
ट्रान्सक्रिप्टको नमूना,मौका परीक्षा,शैक्षिक उपाधि स्थापना,विषय थप,विद्यार्थी भर्ना एवं कोटा निर्धारण सम्बन्धी निर्णय बैठकले अनुमोदन गरेको जनाइएको छ।
त्रिविका उपकुलपति एवं त्रिवि प्राज्ञिक परिषद्का अध्यक्ष प्राडा भोला थापाले त्रिविलाई अन्ताराष्ट्रिय स्तरमै थप मर्यादित,प्रतिस्पर्धी र गुणस्तरीय बनाउने बताए।
सबै विषयका पाठ्यक्रमलाई समय सापेक्ष,बजारकेन्द्रित र राज्यको नीतिसँग मेल खाने गरि प्रभावकारी बनाउने,भौतिक पूर्वाधार सुधारमा पनि जोड दिइएको छ ।
जनताको विश्वास र भरोसा कायमगरी प्राज्ञिक उन्नयन र अन्ताराष्ट्रियकरणमा जोड दिने,विदेशी विद्यार्थीहरू आकर्षित गर्ने,गुणस्तरीय शिक्षाकै निम्ति विदेश पलायन हुन नदिने व्यवस्था गर्नुपर्ने पनि प्राडा थापाले बताए ।
बैठकमा त्रिविका शिक्षाध्यक्ष प्राडा अञ्जना सिंहले त्रिविलाई उत्कृष्ट प्राज्ञिक निकाय बनाउन नवप्रवर्तन र अनुसन्धानमा कार्य गरिरहेको जिकिर गरिन्।
त्रिविका रजिष्ट्रार डा.रवीन्द्र शिवाकोटीले आव २०८१।०८२ र आव २०८२।२०८३ मा प्राज्ञिक परिषद् स्थायी समितिबाट पाठ्यक्रम,ट्रान्सक्रिप्टको नमुना तथा मौका परीक्षा स्वीकृति दिने सम्वन्धमा भएका निर्णय अनुमोदनका लागि प्रस्तुत भएको जानकारी दिए ।
त्रिवि ऐन २०४९ मा प्राज्ञिक परिषद् अध्यक्ष सहित ५० जना सदस्यहरू रहने प्रावधान छ।
