काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने

४, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहर मैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

यसका लागि कामपाले उत्पादकलाई बढी जिम्मेवार बनाउने तयारी गरेको कामपा वातावरण विभागका प्रमुख सरीता राईले जानकारी दिए । प्रमुख राईका अनुसार फोहर मैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गर्ने तयारी कामपाले गरेको हो ।