संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

२३, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् ।

संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरवारमा आयोजना गरेको ‘संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए ।“संघीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्ग निर्देश गर्न सकेका अवस्थामा दिवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ ।