
१७ कात्तिक, काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ आयोजना गर्ने घोषणा गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट रीललाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ ।नेपालको मौलिक कला, संस्कृति, परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने श्रृंखलाअन्तर्गत यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सहभागीले कुकुर तिहारसम्बन्धी मौलिक र रचनात्मक भिडियो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गरी गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा पठाउनुपर्नेछ ।
कसरी सहभागी हुने ?
यदि तपाईं इच्छुक हुनुहुन्छ भने तपाईंले कुकुर तिहारसँग सम्बन्धित भिडियो बनाउनुपर्नेछ । यो भिडियो तपाईंको मौलिक हुनुपर्नेछ । साथसाथै रचनात्मक पनि । सो भिडियो रील तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ । पोस्टसँगै अंग्रेजीमा #NepalTourism, #KukurTihar लेखेर ह्यास्ट्याग गर्नुपर्नेछ ।
यदि इन्स्टाग्राममा पोस्ट गर्नुभएको छ भने @nepaltourism लाई ट्याग गर्नुपर्नेछ । फेसबुकमा हो भने नेपाल पर्यटन बोर्डको आधिकारिक पेसमा ट्याग गर्नुपर्नेछ ।
अंग्रेजी भाषाको प्रयोग
प्रतियोगिताका लागि तयार पारिएको रील अंग्रेजी भाषामा हुनुपर्ने बताइएको छ । यसमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।
कहाँ पठाउने ?
तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोको गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा इमेल पठाउनुपर्नेछ । यसरी पठाउँदा डाउनलोड गर्न र हेर्न मिल्ने अनुमति प्रदान गरिदिनुपर्नेछ ।
कहिलेसम्म पठाउने ?
सन २०२६ नोभेम्बर २१ सम्ममा सहभागी हुन चाहनेले भिडियो पठाउनुपर्नेछ ।
