सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा

९, पुस काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ ।

कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ ।

विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।