
२२, माघ रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् ।
पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् ।
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् ।सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन् ।
