
सीता पौडेल
२, फागुन काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला आजदेखि सुरु भएको छ ।मेलामा रोजगारीको लागि फारम भरेका क्षमतावान बेरोजागार १०० जना युवालाई मेला अवधिमा नै रोजगारीमा जोडिने भएको छ ।
आज शुक्रबार बिहान ९ बजेदेखि नगरपालिकाको प्रांगणमा शुरु भएको सो मेलाको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईले उद्घाटन गरेकी थिइन्।

शिक्षा,सीप र उत्पादकता हाम्रो प्राथमिकता’नारासहित भन्ने नारासहित शुरुभएको सो मेलामा युवा रोजगारी तथा वृत्ति परामर्शलाई विशेष प्राथमिकतामा राखेर मेला सञ्चालन भइरहेको छ ।

शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा इन्स्योर दोस्रो परियोजनाको सहकार्यमा आज र भोली दुईदिन सम्म सञ्चालन हुने उक्त मेलामा सहभागि मध्येबाट १०० जनाले तत्काल आफ्नो रुची र क्षमता अनुसारको रोजगारी प्राप्त गर्ने निश्चित भएको नगरपालिको सामाजिक विकास शाखाकी संयोजक शान्ता ढकालले बताइन् । साथै २०० जनाले विभिन्न रोजगारदाता कम्पनी वा संस्थामा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्ने पनि उनले बताइन् ।


२०७८ सालदेखि यस प्रकारका मेला आयोजना गरिसकेको बुनपाले ती मेलाबाट रोजगारमूलक सीप विकासका तालिम लिन चाहने एवम् रोजगारीको खोजिमा रहेका युवाहरुको तथ्यांकसमेत संकलन गरेको र यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।यसले नगरपालिकामा बसोबास गर्ने बेरोजगार युवाहरुको एकिन तथ्यांक निकाल्न सहयोग पुग्ने र युवारोजगारीको अवसर सृजना गर्ने रणनीति तय गर्न सहज हुने नगरपालिकाकी उप्रमुख अनिता लामाले बताइन् ।



मेलाको पहिलो दिन युवाहरु र विद्यार्थीहरुले उल्लेख्य संख्यामा उत्साहजनक सहभागिता जनाएका छन् ।


