‘शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने’

१८, फागुन काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राखेकी छन् ।

हिजो आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

“मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो”, उपसभामुख रानाले भनिन् । अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्नेरगराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका उल्लेख गरिन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिमका साथै प्रोत्साहन गर्ने किसिमका योजनाहरू कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

अभिभावलाई लक्षित गर्दै उपसभामुख रानाले हरेकको पहिलो विद्यालय परिवार रहेकाले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना बालबालिकालाई भरपुर समय दिन आग्रह गरिन् ।