
१९, फागुन काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ ।
संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको आइतबारको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्र्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारुप तयार पारेको संवादका सम्पर्क व्यक्ति वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।
