मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान

५, चैत काठमाडौं । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ ।

अखिल छैटौँको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।मतपत्रमा चुनाव चिह्न नै छुटेको पाइएपछि फेरि मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न थिएन ।

मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । अहिले पृथ्वीनारायण क्याम्पसबाहिर विभिन्न विद्यार्थी संगठनले कोण सभा गर्दै छिटो चुनाव गर्न दबाब दिइरहेका छन् ।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ । यसपटक संगठनहरु विरासत जोगाउने र भत्काउने रणनीतिमा छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्यको संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।