
६, चैत काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीबारे छलफल गरेका छन् ।
कम्बोडियाका पर्यटन मन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटमा मन्त्री पाण्डेले भेटवार्ता गरेका छन् ।कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा उनले आफू कम्बोडिया उत्रिने बित्तिकै नेपालमा जस्तै सडकका कुना कुनामा गणेश भगवानका मूर्ति दर्शन गर्न पाएको बताए । दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा उनले छलफल गरेका छन् ।
भेटमा भगवान् बुद्धको जन्म नेपालमा भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पर्यटकले सहज भ्रमण गर्न सक्ने बताए ।भेटवार्तामा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्व उल्लेख गर्दै कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्ने बताएका छन् ।
