आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

१५, चैत काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक), २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसैगरी दिउँसो १: १५ मिनेटमा बस्ने राष्ट्रिय सभाको आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।