
३, वैशाख काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द यूरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी छिन् ।
युरोपको औपचारिक भ्रमणमा रहेकी डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानमा कसरी छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बनको अभ्यास गरिरहेको छ भनेर अनुभव सुनाएको जानकारी दिइन् ।
‘सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समान न्याय सहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात् गरिरहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ,’ डंगोलले भनिन्, ‘त्यहाँको अदालतले कसरी काम गरिरहेको छ रु उनीहरूले कुनैपनि मुद्दाको समाधान कसरी गरिरहेका छन् । कति समयावधिमा गर्छन् भन्ने सबै प्रक्रिया बारेमा पनि छलफल गर्ने अवसर प्राप्त भयो ।’
युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको थियो । त्यही सिलसिलामा उनले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियनं) पुगी त्यहाँ पनि अनुभव आदानप्रदान गरेका हुन् ।
