
४, वैशाख काठमाडों । सङ्घीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बिहीबारदेखि धनुषाको लालगढमा सुरु भएको छ । मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताको उपलब्धिहरूलाई आम जनसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिएकोमा बताए । उनले भने, “सङ्घीयता कार्यान्वयन भएको सात–आठ वर्ष बितिसक्यो । यस अवधिमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा थुप्रै काम भएका छन् । तर तिनलाई प्रचार गर्न सकेनौं ।”
मुख्यमन्त्री सिंहले सङ्घीयताको जननीको रहेकोे बताउँदै उनले नेपाललाई आफ्नै पहिचानमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । उनले थप्दै भने, “हामी नेपाललाई विशुद्ध रूपमा नेपाल बनाउनुपर्छ । हाम्रो देशमा बुद्ध, सीता र पशुपतिनाथ छन् । प्राकृतिक पर्वत र सम्पदाहरू छन् जसलाई प्रवर्धन गर्न सके पर्यटनमार्फत देशको अर्थतन्त्र मजबुत बनाउन सकिन्छ ।”
मुख्यमन्त्री सिंहले सांसदहरूको प्रमुख भूमिका कानुन निर्माण हो भन्ने विषयमा जनचेतना अभाव रहेको पनि उल्लेख गरे । उनले सडक, पुल र अस्पतालका विषयलाई लिएर जनताले गुनासो त सुनाउँछन् तर एक जनाले पनि सांसदहरूले कति वटा कानुन बनाए भनेर सोध्दैन भन्दै प्रश्न गरेका हुन् ।
