ट्रेड युनियन अधिकारमा काँग्रेसको भूमिका महत्त्वपूर्ण छ : सभापति देउवा

१८, वैशाख काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

“श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र संवर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि काँग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको संघर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।