
९, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् ।
नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए ।
माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए ।
उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।
