
१४, जेठ काठमाडौं । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताए ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताए । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पुर्याएको योगदानको चर्चा प्रमुख भट्टले गरे ।
मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उनको भनाइ छ ।
