जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने : महासचिव पोखरेल

 १४ जेठ,काठमाडौं। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन भएकाले यस दिवसलाई एक महोत्सवका रुपमा मनाउन लागेको बताएका छन् । 

ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रुपमा मनाउने थालनी भएको सन्देश दिन खोजेको बताए।

“संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ, ” उनले भने ,“त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरयौं र र तयारीमा जुटेका छौ ।”

साथै महासचिव पोखरेलले भोलि सास्कृतिक झाकी सहित उत्सवको रुपमा दिवस मनाइने बताए । उनले भने,
“हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ, “हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय,विशेष सांस्कृतिक भेषभुषा, बाजाजागा सांस्कृतिक झाँकी सहित हुने छ । यसले एउटा विशिष्ट छाप छाडने छ । ”

साथै उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमासमेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गरिने पनि स्पष्ट पारे ।

“जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,” “त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने हो । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।”

सम्मेलनमार्फत उनले एमाले मात्र होइन सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न आग्रह गरे  ।

महासचिव पोखरेलले आफूहरुको अबको  ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत भएको कुरामा समेत जोड दिए ।