मनाङ । मनाङको नाम्के खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य सुरु गरिएको छ । यहाँ यार्सागुम्बा पाउने धेरै खर्कहरु भए तापनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको नासों–८ का वडाध्यक्ष याद घलेले बताउनुभयो ।
अध्यक्ष घलेका अनुसार १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका यादले मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो ।
“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ, सोही अनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ” उहाँले भन्नुभयो।
यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उनले जानकारी दिए ।
पहिले जस्तै नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ। उहाँका अनुसार नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो ।
एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो।उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार र पिसाङमा पनि स्थानीयलाई मात्र यार्सागुम्बा खोजीका लागि अनुमति दिने निर्णय भएको छ ।”
जिल्लाका प्रमुख तीन स्थानका खर्कमा यार्सागुम्बा सङ्कलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।
मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेक लगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने असारको पहिलो सातातिरबाट यार्सागुम्बा सङ्कलन कार्य रोकिन्छ ।
मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
