घुम्तीमा पुगेको मान्छे मोडिए जस्तै के भीम रावलले राजनीतिक मोड लेलान त ?

काठमाडौं । नेकपा एमालेको पार्टी नेतृत्वले ‘बाइपास’ गर्दै राजनीतिक नेतृत्वबाट धकेलेपछि नेता भीम रावलले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् ।साथै उनले पार्टीको यस प्रकारको व्यवहारलाई अब नसहने चेतावनी समेत दिएका छन् ।

हिजो बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखेका थिए।उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको भन्दै पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको र अब आफू गम्भीर मोडमा पुगेको बताए।

उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ,गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ।मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ।एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु।अब त्यो घुम्तीमा पुग्दाखेरि हामी सबैलाई थाहा छ।’

एमाले छाड्ने संकेत गर्दै उनले सामान्य जीवनमा पनि मान्छे घुम्तीमा पुगेपछि मान्छे एकबाट अर्को मोडमा जाने बताए।रावलले थपे, ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पुर्‍याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु।त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि त्यो कुरामा आउनेछु।’

उनले आजै पार्टी छाडेको घोषणा  भने गरेन।मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए। उनले भने,‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन।घुम्तीमा धकेलिएको छ, अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु।’

‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप,सुरक्षा,कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु।र,हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ,त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ,त्यसमा म अहिले पनि दृढ छु ’उनले भने।