काठमाडौं ।काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सञ्चालन गर्ने ‘सिप मेला’ को तयारी पूरा भएको बताएको छ।मंगलबार पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको महानगरले जानकारी दिएको हो।
‘शिक्षालाई सिपसँग’,‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु,सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले यस प्रकारको मेलाको आयोजना गरिएको महानगरको भनाई छ ।
महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार उच्च माग भएका पेसासँग सम्बन्धित २ हजार ८१ जनालाई एक महिना निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य महानगरले लिएको छ।महानगरले सो तालिम लिएका व्यक्तिलाई रोजगार,स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
रोजगारदाता,शैक्षिक क्षेत्र,सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमुना कार्यक्रम रहेको महानगरले जनाएको छ।महानगर गौरव योजना अन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम छन्।
‘साइबर सेक्युरिटी’ मा ४ हजार जनालाई तालिम प्रदान गर्न लागेको डंगोलले बताइन्।नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। कार्यक्रमबाट उत्पादीत जनशक्तिलाई ‘सिप मेला’ मा रोजगारदातासँग सम्पर्क गराउनु मेला आयोजनाको उद्देश्य रहेको महानगरको भनाई छ।
तालिमका लागि १० क्षेत्र निर्धारण गरिएको सिप मेलामा २९ प्रकारका पेसागत तालिम रहने र अवश्यक्ताका आधारमा थप गर्ने योजना बनाएको महानगरले जनाएको छ।
