
सीता पौडेल(अर्चना)
काठमाडौं ।
आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ ।
खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ।
असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बालबालिकाको जीवन नकरात्मक बाटोतिर डोरिने खतरा हुन्छ।हाम्रै समाजमा कतिपय बालबालिका खराब संगतीका कारण दुव्र्यसनमा फँसेको पाइन्छ ।तसर्थ हरेक आमाबुबाले आफ्ना बालबालिकाको साथीको आचरण,स्वभाव र नियतको जानकारी राख्नु जरुरी छ ।साथै बालबालिकालाई राम्रा साथीसँगको सम्बन्धलाई प्रगाढ बनाउन प्रयास र सहयोग गर्नुपर्छ । यसो हुन सकेन भने बालबालिकाको भविश्य विग्रन सक्छ ।
राम्रो संस्कार र स्वभाव भएको बालबालिका पढाइमा कमजोर भएपनि मित्रतामा अवरोध भने गर्न हुँदैन तर उमेर र वैचारिक समानताले मित्रताको कसि बलियो बनाएर राख्न मद्दत गर्छ ।स्वार्थीपन,घमण्डी,पूर्वाग्राही र औसरवादी स्वभावका साथीहरुबाट भने बालबालिकालाई टाढै बस्न सुझाब दिनु पर्छ ।असल साथीप्रतिको आत्मीय भावमा यति शक्ति हुन्छ कि उनिहरु कुनै खराब कार्यमा लाग्ने सम्भावना अत्यन्तै न्युन हुन्छ ।
बाबुआमाले आफ्ना बालबालिकालाई उनिहरुका असल साथीसँग भेट्ने,घुम्ने,सँगै पढ्ने र खेल्ने प्रयाप्त अवसर भने दिनु जरुरी हुन्छ।बालबालिकाका साथीको परिवारसँगको सम्बन्धलाई पनि एउटा असल नातेदारको सम्बन्धमा रुपान्तरण गर्न पर्दछ ।
आर्थिक हैसियतले पनि मित्रतामा प्रभाव पार्ने हुँदा समान हैसियतका साथीसँगको मित्रतामा जोड दिनु पर्दछ ।बढी आर्थिक हैसियत भएका साथीको संगतका कारण बालबालिकामा चाहाना पुरा गर्न नसके निराशा बढेर जाने र मित्रतामा आँच आउने हुँदा यस्तो विषयमा पनि विशेष ध्यान दिनु जरुरी छ।बालबालिकाको सुरक्षा,संरक्षण र मानसिक शान्तिका लागि पनि राम्रो साथीको सम्बन्धमा विस्तार गर्नु जरुरी छ तर खराब संगतबाट भने उनिहरुलाई जोगाउन विशेष ध्यान दिनु पर्दछ ।
बालबालिकालाई उमेरसँगै देखा पर्ने आन्तरिक संवेग प्रकट गर्ने,खेल्ने र समायोजन हुने अवसर दिनु पर्दछ ।यदि बालबालिकाले यस्तो अवसर पाएनन् भने ति संवेगहरुले दुख दिन थाल्दछन् र विपरित लिंगीप्रतिको आकर्षणले बेचैन हुने,सानै उमेरमा प्रेममा फस्ने र अविवेकीपूर्ण यौन क्रियाकलापमा संलग्न हुन पुग्दछन्।तर बाबुआमाले बालबालिकाका विपरीतिलिङ्गी साथीहरुबीचको मित्रतालाई गलत भने ठान्नु हुँदैन।विश्वास,प्रेम र सहानुभूतिले नै बालबालिकालाई गलत कार्यबाट रोक्न सक्नुपर्दछ।
बालबालिकाका भावनालाई दमन गर्ने,साथी सङ्गीसँग भेट्न नदिने र गाली गर्ने जस्ता क्रियाकलाप गर्न हुँदैन।यसो गरियो भने उनिहरु मानसिक रुपले रुग्ण बन्दै जान सक्छन्।
योसँगै बालबालिकालाई अध्याधिक टिभी हेर्न,सोसल मिडिया चलाउन,अत्याधिक मोबाइल र इन्टरनेट प्रयोग र भिडियो गेम खेल्न,शारीरिक र मानसिक क्षमता भन्दा माथिको काम गर्न,पढाइभन्दा अन्य कार्य डुल्ने,घुम्ने,मन नलागी कुनै काम गरिरहने जस्ता विषयमा प्रतिबन्ध लगाउनु जरुरी छ।
बालबालिकालाई किताबी ज्ञानमा मात्रै सीमित नराखी उनीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनु पर्दछ । सानालाई माया,ठूलालाई आदर,पाहुनालाई स्वागत,भड्किलोपनबाट अलग,नम्र बोली,शिष्ट व्यवहार,सहयोगी भावना,आफ्नो काम आँफै गर्ने बानी,भान्साका वा घरायसी कामहरु सिक्ने,भान्सामा सघाउने,सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,झुटो नबोल्ने,चोरी नगर्ने,अरुको सहयोगमा धन्यवाद भन्ने जस्ता असल संस्कार युक्त व्यवहारहरु सिकाउनुपर्छ ।असल संस्कारमा हुर्केको बालबालिकाले मात्र असल समाजको निर्माणमा सहयोग गर्न सक्छ
