
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।
अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरुको भनाई छ।
